सुर्खेत । सुर्खेतमा पुस १३ गतेदेखि सञ्चालन गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । स्वास्थय सेवा विभागबाट अर्को मिति तय नहुन्जेलसम्मका लागि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने फाइजर खोपको अभियान स्थगित गरिएको हो ।
केही दिनका लागि स्थगित गरिएपनि पुनः सूचना सार्वजनिक गरेर अभियानलाई निरन्तरता दिईने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । उनले फाइजर खोप अभियान स्थगित भएपनि स्वास्थ्यकर्मीहरुको तालिम भने पूर्वसूचना अनुसार नै हुने जानकारी दिए । उनका अनुसार यसअघि सुर्खेतमा यही उमेर समूहका दुई हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ खोपको पहिलो मात्रा दिई सकिएको छ । कर्णालीका सुर्खेत बाहेक ९ जिल्लामा भने बालबालिकाका लागि मोडर्ना खोप अभियान सञ्चालन भएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको बताएको छ । निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोडर्ना खोपको पहिलो मात्रा आइतबारदेखि आगामी पुस १४ गते र दोस्रो मात्रा आगामी माघ २ देखि १० गतेसम्म लगाउने कार्यतालिका रहेको जानकारी दिए । उनका अनुसार कर्णालीका नौ जिल्लाका १ लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ ।@Nepaliraibar