काठमाडौं। बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने भएका हुन् ।पाण्डेसँगै तीन मन्त्रीले आजै शपथ लिने भएका छन् । गठबन्धनमा सम्मिलित कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक-एक जना मन्त्री बन्ने भएका हुन् ।
एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, कांग्रेसका कृष्णलाल भँडेल र माओवादी केन्द्रबाट कुमारी मोक्तानले शपथ लिने भएका हुन् । उनीहरुले पाउने मन्त्रालयबारे भने गठबन्धनबीच छलफल जारी रहेकाले सपथ ग्रहणका बेलासम्म टुंगो लाग्ने बुझिएको छ ।
प्रदेशसभामा एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि मुख्यमन्त्री पदबाट बुधवार राजीनामा दिएकी थिइन् ।शाक्यको राजीनामासँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि विहीवार अपरान्हसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसलगत्तै गठबन्धनकोतर्फबाट ५९ सांसदको समर्थन जुटाएर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।