बुधबारदेखि चार दिन देशभर बदली हुने, हिमपातको सम्भावना कुन क्षेत्रमा कस्तो छ?

कर्णाली अनलाइन २० पुष २०७८, मंगलवार ०९:०२

काठमाडौँ ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबारदेखि आउँदो शनिबारसम्म देशभरको मौसम बदली भइ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले मंगलबार हिउँद यामको मौसमी अवस्था सम्बन्धी विशेष बुलेटिन जारी गरेर चार दिन बदली तथा वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।

विशेष बुलेटिनमा भनिएको छ, ‘आज मंगलबार रातिदेखि पश्चिमी नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने छ ।’

शनिबारसम्म यो प्रणाली देशभर फैलिएर विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको विभागले जनाएको छ ।

‘बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ’, मौसमी बुलेटिनमा भनिएको छ ।

आउँदो आइतबारदेखि पश्चिमी न्यून चापीय मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना सङ्क्रमण दर फेरि ४ प्रतिशतभन्दा माथि, सक्रिय सङ्क्रमित ५ हजार जनाभन्दा धेरै

२० पुष २०७८, मंगलवार ०९:०२
काठमाडौँ। नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा नौ हजार तीन सय २९ जनाको नमुना परीक्षण गर्दा तीन सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये चार दशमलव २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै […]