एमसीसी सहमतिमा पास गर्नुपर्छ :एमाले सचिव रायमाझी

कर्णाली अनलाइन २० माघ २०७८, बिहीबार ०७:४९

काठमाडौँ ।नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले दलहरुबीचको सहमतिमा एमसीसी पास गर्नुपर्ने बताएका छन्।उनको पार्टी एमालेले एमसीसीबारे स्पष्ट धारणा सार्वजनिक गरिनसकेको अवस्थामा पूर्वउपप्रधान एवं ऊर्जामन्त्रीसमेत रहेका नेता रायमाझीले राजनीतिक सहमतिमा एमसीसी पारित गर्नुपर्ने बताएका हुन्।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले एमसीसी छिटो संसदमा पेश गर्न प्रधानमन्त्री शेरहादुर देउवालाई सुझावसमेत दिए।एमसीसीको सवालमा पहिले सरकार तात्नुपर्ने उनको तर्क थियो। उनले नेपालमा उत्पादित विद्युत भारत, पाकिस्तान र बंगलादेशमा बिक्री गर्न एमसीसीले समेटेका विद्युतीय प्रशारणलाइन छिटो बन्नुपर्नेमा समेत जोड दिए।

‘नेपालमा हाइड्रो पावरको प्रोजेक्ट दिनप्रतिदिन सम्पन्न हुँदैछन्। अब चाहिनेभन्दा बढी ऊर्जा आउँदैछ। निर्यात गर्नुपर्छ भनेका छौं। भारत, पाकिस्तान, बंगलादेशसँग बजार खोज्ने हो। यसको लागि प्रशारणलाइन चाहिन्छ’, उनले भने, ‘यो बनाएनौं भने नेपालमा उत्पादित बिजुली खपत हुँदैन। यो घाटा हुन्छ। प्रशारणलाइन छिटो बन्नुपर्छ । त्यसैले एमसीसी सहमति गरेर पास गराउनुपर्छ।’

रायमाझीले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको जानकारी दिए। ‘हामी अहिले प्रतिपक्षमा छौं। एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुंगो लगाओस्। संसदमा टेबुल भएपछि हामी सोच्छौं’, उनले थपे, ‘अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन।’

पूर्वमाओवादी नेता रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने जानकारी दिए। ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं’, नेता रायमाझीले भने, ‘उहाँ विधिसम्मत् रुपमा चल्नुभएन।’सभामुखलाई हटाउँदा नै राम्रो हुने बताउँदै उनले आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको स्पष्ट पारे।

‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं। सरकारसँग बहुमत छ। एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ। सभामुखमाथि महाभियोग लगाउन हामीसँग बहुमत छैन’, नेता रायमाझीले भने, ‘तर सभामुखलाई हटाउँदा राम्रो हुन्छ। कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं।’

रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने बताए। ‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ। त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन’, उनले भने, ‘नेपाली जनताको समर्थन र सहारा चाहिएको छ। जनताको माहोल अहिले एमालेतिर छ।’

उनले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको जिकिर गरे। एमालेले आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बहुमत र शानदार विजयी हासिल गर्ने उनको दाबी थियो।@thahakhabar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युक्रेन तनाव : अमेरिकाले थप सैनिक युरोपमा तैनाथ गर्ने

२० माघ २०७८, बिहीबार ०७:४९
युक्रेनलाई लिएर रुससँग तनाव बढिरहेका बेला अमेरिकाले युरोपमा थप सैनिक पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो हप्ता युरोपमा थप सैनिक तैनाथ गर्ने रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । युक्रेनमा रुसबाट सैन्य आक्रमणको जोखिम बढेको भन्दै अमेरिकाले लगातार त्यसको विरोध गर्दै आएको छ । रुसी आक्रमणको बढ्दो त्रासका […]