युक्रेन तनाव : अमेरिकाले थप सैनिक युरोपमा तैनाथ गर्ने

कर्णाली अनलाइन २० माघ २०७८, बिहीबार ०७:५६

युक्रेनलाई लिएर रुससँग तनाव बढिरहेका बेला अमेरिकाले युरोपमा थप सैनिक पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो हप्ता युरोपमा थप सैनिक तैनाथ गर्ने रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

युक्रेनमा रुसबाट सैन्य आक्रमणको जोखिम बढेको भन्दै अमेरिकाले लगातार त्यसको विरोध गर्दै आएको छ । रुसी आक्रमणको बढ्दो त्रासका बीच अमेरिकाले युरोपमा आफ्ना सैनिकको संख्या बढाउने भएको हो ।

उत्तरी क्यालिफोर्नियाको फोर्ट ब्रागमा रहेका करिब दुई हजार सैनिक पोल्याण्ड र जर्मनीमा तैनाथ हुने छन् । यस्तै अहिले जर्मनीमा रहेका एक हजार अमेरिकी सैनिक रोमानिया जाने छन् ।रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ । अमेरिकासहितका पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि रुसी आक्रमणकाे तयारी भनेका छन् ।

तर रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ । उसले अमेरिकी सैनिकको तैनाथीलाई ‘विनाशकारी’ भनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै अमेरिकाले आफूहरुलाई युक्रेन युद्धमा तानिरहेको आरोप लगाएका थिए ।

युरोपमा तैनाथ हुने अमेरिकी सैनिकले युक्रेनमा युद्ध गर्ने छैनन्, तर आफ्ना साझेदारहरुको रक्षाका लागि काम गर्ने अमेरिकाले जनाएको छ ।गएको महिना पेन्टागनले आवश्यक परेको अवस्थामा युरोपमा तैनाथ हुनका लागि साढे ८ हजार सैनिकलाई तयारी अवस्थामा राखेको थियो । अहिले तैनाथ हुन लागेका सैनिक त्यसमा थप हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोक सेवाका स्थगित परीक्षा फागुन ६ देखि सुरु हुने

२० माघ २०७८, बिहीबार ०७:५६
काठमाडौँ।लोक सेवा आयोगका स्थगित परीक्षाहरु आगामी फागुन ६ गतेदेखि सुरु हुने भएका छन्। आयोगको बुधबार बसेको बैठकले स्थगित परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।यसअघि कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि आयोगले माघ ६ गते सूचना जारी गर्दै परीक्षा स्थगित गरिएको जानकारी गराएको थियो। आयोगले सूचना जारी गर्दै  स्थगित भएका उपसचिव वा […]