वीरेन्द्रनगरको आपतकालीन कार्य संचालन केन्द्र तयार

कर्णाली अनलाइन २६ माघ २०७८, बुधबार ०४:१६

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले सुर्खेतमै पहिलो आपतकालीन कार्य सञ्चालन केन्द्र तयार गरेको छ। नगर क्षेत्रभित्र हुने विपद्का घटनाहरुको न्यूनीकरण तथा रोकथामका लागि गरिने गतिविधि अब नगरपालिकाले यही केन्द्रमार्फत सञ्चालन गर्ने जनाएको छ।

केन्द्रमा कम्तीमा ७ दिनका लागि पुग्ने खाद्यान्न तथा खानेपानीको मौज्दात वा आपूर्ति सुनिश्चितताको तथ्याङ्क रहनेछ भने आपतकालीन अवस्थाका लागि अत्यावश्यकीय औषधि, महिला तथा शिशुलाई आवश्यक सेनिटरी प्याड, डाइपरजस्ता सामग्री राखिनेछ। केन्द्र सञ्चालनका लागि आवश्यक कार्यालय तथा मसलन्द सामग्री, आतकालीन उद्धारका लागि सामग्री, सूचना तथा सञ्चारका साधनहरु रहनेछन्।

नगर प्रमुख देवकुमार सुवेदीले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र व्यवस्थापन कार्यविधि निर्माण भइसकेको जानकारी दिए। उनका अनुसार नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टोपबहादुर दर्लामीको संयोजकत्वमा गठित कार्यदलले कार्यविधिको मस्यौदा तयार पारिसकेको र कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गर्नेछ।

कार्यविधिमा पूर्वतयारी, प्रतिकार्य व्यवस्थापन, पूर्वसूचना, सुरक्षा, सूचना तथा सञ्चार, द्रुत क्षति लेखाजोखा, केन्द्र रहने स्थान, व्यवस्थापन कर्मचारीलगायत विभिन्न विषय उल्लेख गरिएको छ। नगरपालिकाको यो केन्द्र सञ्चालनका लागि नगर प्रमुखको संयोजकत्वमा निर्देशक समिति हुनेछ। सोही समितिबाट केन्द्र सञ्चालन हुनेछ।

नगर प्रमुख सुवेदीले केन्द्रको औपचारिक उद्घाटनपछि मात्र यहाँबाट विपद् न्यूनीकरणका क्रियाकलाप सञ्चालन गर्ने बताए। वीरेन्द्रनगर नगरपालिका बाढी, नदी कटान, भूक्षय तथा पहिरोको उच्च जोखिममा रहेको क्षेत्रमा पर्दछ। वर्षेनी यहाँ बाढी र डुबानका कारण ठूलो क्षति हुने गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोग : एक/दुई दिनमा स्थानीय तहको चुनावको कार्यतालिका सार्वजनिक गर्ने तयारी

२६ माघ २०७८, बुधबार ०४:१६
काठमाडौँ।निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ ।एक/दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिनेछन् । साथै कार्यतालिकामा उम्मेदवारी दर्ता, […]