एकीकृत समाजवादीको स्थायी समिति बैठक बिहान ११ बजे अर्याल होटलमा बस्दै

कर्णाली अनलाइन ७ फाल्गुन २०७८, शनिबार ०३:४०

काठमाडौँ ।सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एकीकृत समाजवादी) ले एमसिसीका सम्बन्धमा आफ्नो आधिकारिक धारणा शनिबार तय गर्ने भएको छ ।नेकपा (एकीकृत समाजवादी) ले शनिबार एमसिसीबारे छलफल गरी धारणा बनाउनका लागि स्थायी कमिटिको बैठक बोलाएको छ।

बिहान ११ बजे बानेश्वरको अर्याल होटलमा बस्ने बैठकमा एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल हुने र निष्कर्ष निकालिने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा पार्टीको जीवनसँग जोडिएका समसामयिक विषयबारे पनि छलफल हुने उनले बताए।सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसी संसदबाट पारित गराउनु पर्ने पक्षमा स्पष्ट रुपमा उभिँदा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो आधिकारिक धारणा अझै तय गरेको छैन। तर उसले राष्ट्रहितविपरीतका बुँदाहरु संशोधनविना एमसिसी पारित गर्न नहुने र त्यसका लागि नेकपा एमालेसहितलाई सहमतिमा ल्याउनुपर्ने बताउँदै आएको छ।

नेकपा माओवादी केन्द्रले भने संसदीय दलमार्फत एमसिसीको विपक्षमा उभिने र जबरजस्ती पारित गराउन खोजिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।लगातार संसदमा अवरोध गर्दै आएको एमालेले पहिले स्त्ता गठबन्धनको स्पष्ट धारणा आउनु पर्ने र त्यसपछि मात्रै आफूहरुको कित्ता स्पष्ट पार्ने बताउँदै ‘पर्ख र हेर’ को रणनीति लिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जस अपजस लिन तयार रहेको भन्दै एमसिसी संसदमा पेश गर्ने अडान लिएका छन्। तर त्यसले सत्ता गठबन्धनमा गम्भीर दरार आएको छ। उनले गठबन्धन टुटेको अवस्थामा एमालेसँगको सम्भावित सहकार्यका लागि समेत प्रयास गरिरहेका छन्। त्यसमा पनि हालसम्म प्रगति हुन सकेको छैन।

एमसिसी सदनमा पेश गर्ने तयारी भइरहँदा पछिल्ला दिनमा विरोध प्रदर्शन सघन बनेका छन्। एकीकृत समाजवादीकै युवा–विद्यार्थीहरु एमसिसीविरुद्ध सडक आन्दोलनमा छन्। केही स्थानमा एमसिसी विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएको छ।

अमेरिकी सरकारको सहयोग परियोजना एमसिसी सदनबाट पारित गराउनका लागि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेर माग गरेको समय सीमा फागुन १६ मा सकिँदै छ। अमेरिकाले सोही सीमाभित्र पारित गराउन जोड दिँदै नभए सहयोगको भविष्य अनिश्चित हुने चेतावनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका मूख्यमन्त्री लगाएत अन्य मन्त्रीहरुले गरे वीरेन्द्रनगर शहिदपार्क सरसफाई

७ फाल्गुन २०७८, शनिबार ०३:४०
सुर्खेत।७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णालीका मूख्यमन्त्री लगाएत अन्य मन्त्रीहरुले वीरेन्द्रनगरको शहिदपार्क सरसफाई गरेका छन् ।वीरेन्द्रनगर–४ स्थित शहिदपार्कमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकाया लगाएतका अन्य मन्त्री, कर्मचारी र सरोकारवालाहरूको उपस्थितिमा सरसफाई गरिएको छ । कर्णाली प्रदेश सरकारले सुर्खेत प्रशासनसँगको सहकार्यमा […]