लमजुङ।लमजुङमा पुनः भूकम्प गएको छ । मंगलबार बिहान २ बजेर २२ मिनेट जाँदा बेसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो ।
भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेका हुन् । जिल्लामा यसअघि गत माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रविन्दु तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो ।
त्यस्तै माघ १३ गते क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो ।
जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुने गरेको छ । जेठयता हालसम्म गएको भूकम्पले कुनै मानवीय तथा भौतिक क्षति नगरे पनि जेठ ५ गते आएको भूकम्पले भने मानवीयदेखि भौतिक क्षति गरेको थियो ।