नविन ओली
सुर्खेत।रंगहरुको पर्व अर्थात होली कर्णाली प्रदेशको राजधानी सुर्खेत लगायत विभिन्न जिल्लामा हर्षोलाल्सका साथ मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन पहाडी क्षेत्रमा होली पर्व मनाउने गरिन्छ ।
फागुन शुक्ल पूर्णिमाका दिनदेखि वसन्त ऋतुको आगमन हुने भएकै कारण पनि यो दिनलाई विशेष मानिन्छ । आपसी मेलमिलाप ,सत्यको विजय र सद्भावनाको सन्देश लिई आउने दिनको प्रतिकको रुपमा हेरिने होली पर्वमा परम्परागत रूपमा विभिन्न रङ र लोलाको प्रयोग गरेर मनाउने परम्परा रही आएको छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरित रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । आज कुनै अप्रिय घटनासमेत नघटेको प्रहरीले जनाएको छ ।

