कालिकोट।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा १४ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ५ ठूला दलबाहेक १४साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी नन्दराम चौलागाईका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो ।
निर्वाचन कार्यालयमा कागजात पेस गर्ने पार्टीहरुमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी,सामाजिक एकता पार्टी,जन जागरण पार्टी नेपाल,नेपाल कम्युनिष्ट पार्टी (माले),राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, विवेकशिल साझा पार्टी,जनसमाजवादी पार्टी नेपाल ,नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) ,नेपाल परिवार दल ,मौलिक जरोकिलो पार्टी,नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी रहेका छन्।
आयोगले तोकेको समयमा जिल्लामा रहेका १४ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । चौलागाईका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), र जनता समाजवादी पार्टी (जसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १४ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उनले बताए।