एजेन्सी।युक्रेनलाई थप हतियार सहयोग नगर्न रुसले अमेरिकालाई औपचारिक रुपमा चेतावनी दिएको छ।रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । रुसले आक्रमण थालेसँगै अमेरिकासहितका पश्चिमा राष्ट्रले युक्रेनलाई हतियारसहितका सैन्य सामग्री सहयोग गरेका छन् ।
युक्रेनी सैनिकले रुसी आक्रमणको अनपेक्षित रुपमा बलियो प्रतिरक्षा गरिरहेका छन्।रुसले कूटनीतिक नोट पठाएर अमेरिकालाई चेतावनी दिएको हो । अमेरिका तथा नेटो सैन्य गठबन्धनका सदस्य राष्ट्रले युक्रेनलाई गरिरहेको गम्भीर हतियार सहयोगले युद्धमा ‘तेल’ हालिरहेको आरोप रुसले कूटनीतिक नोटमा लगाएको वासिङ्टन पोस्टको खबरमा उल्लेख छ ।
अमेरिका र नेटो राष्ट्रले युक्रेनलाई थप हतियार दिएमा गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी रुसले दिएको हो ।अमेरिकी अधिकारीले रुसको कूटनीतिक नोटबारे केही बताएका छैनन्, तर युक्रेनलाई आवश्यक हतियारसहितका सहयोग भने जारी रहने स्पष्ट पारेका छन् ।
अमेरिकी अधिकारीले भनेका छन्, ‘हामीले पुष्टि गर्न सक्ने कुरा यो हो कि हामी र साझेदार राष्ट्रहरुले रुसले गरिरहेको आक्रमणबाट युक्रेनको रक्षाका लागि अर्बौँ बराबरको हतियारसहितका सहयोग गरिएको छ र त्यसको प्रयोग युक्रेनले आफ्नो रक्षाका लागि राम्रोसँग गरिरहेको छ ।’
युक्रेनमा रहेको रुसी दूतावासले कूटनीतिक नोटका सम्बन्धमा टिप्पणीका लागि अस्वीकार गरेको द गार्डियनले जनाएको छ ।अमेरिकाले पछिल्लोपटक थप ८०० मिलियन डलर बराबरको सैन्य सहयोग युक्रेनलाई दिने तयारी गरिरहेको छ ।
युद्ध सुरु भएयता अमेरिकाले युक्रेनलाई गरेको हतियारसहितका सहयोगको आँकडा यसले २.६ बिलियन डलर पुग्ने छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेनलाई अत्याधुनिक हतियार पठाउने पनि स्पष्ट पारेको छ ।रुसले अमेरिकालाई जस्तै युरोपियन युनियनलाई पनि समान व्यहोराको कूटनीतिक नोट पठाए नपठाएको स्पष्ट छैन।
यही सन्दर्भमा रुसले अमेरिकालाई थप हतियार युक्रेन नपठाउन वा अनुमान लगाउन नसक्ने परिणामका लागि तयार हुन चेतावनी दिएको द वासिङ्टन पोस्टमा प्रकाशित खबरमा उल्लेख छ ।