कर्णाली प्रदेशमा सत्ता गठबन्धनले टुंग्याउन सकेन भागवण्डा

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार ०१:३३

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धनलाई चुनावी तालमेल गर्न सकस भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन हुँदा कसले कुन पालिकाको नेतृत्व लिने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन ।

चैत ३० गते बसेको प्रदेशस्तरीय पाँच दलीय गठबन्धन संयन्त्रको बैठक प्रदेशका १० वटै जिल्लालाई वैशाख ३ गते भित्र सिट बाँडफाँड टुंगो लगाएर पठाउन निर्देशन दिएको थियो ।तर शनिबार बेलुकासम्म कुनै पनि जिल्लामा सत्ता गठबन्धन दलहरु बीच सिट बाँडफाँडको विषयमा सहमति जुट्न नसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले बताइन् ।

‘अहिलेसम्म कनैपनि जिल्लाले सिट बाँडफाँड टुंगो लगाएका छैनन् । तीन गतेसम्मको डेडलाइन दिइएको हो, जिल्लामा छलफल चलिरहेको छ । भोलिसम्म पठाउँछन् कि !’ अध्यक्ष केसीले अनलाइनखबरसँग भनिन् ।उम्मेदवार मनोनयनका लागि अब नौ दिनमात्रै बाँकी छन् । तर, उम्मेदवारको टुंगो लगाएर मत माग्न घरदैलो जानुपर्ने दलहरू भागबण्डा मिलाउन सकिरहेका छैनन् ।

केन्द्रले सिट बाँडफाँडको मापदण्ड बनाएर देशभर सर्कुलर गरेपनि जिल्लास्तरमा नेताहरु बीच सहमति जुट्न सकेको छैन ।दलहरुले आ–आफ्नो पकड क्षेत्रमा बढी सिट हत्याउन खोजेपनि सहमति जुट्न नसकेको कांग्रेसका कर्णाली प्रदेश महामन्त्री निरञ्जन केसी बताउँछन् । ‘राष्ट्रिय आवश्यकतालाई महसुस गरेर अघि बढेका छौं । कुनैपनि दल मारमा नपर्ने गरी सिट बाँडफाँड हुनुपर्छ । जिल्लामा छलफल चलिराछ, राति १२ बजेसम्म भएपनि टुंगो लाग्छ’ महामन्त्री केसीले भने ।

कतिपय जिल्ला र स्थानीय तहका पार्टी समितिले केन्द्रको निर्देशनबमोजिम तालमेल नगर्ने निर्णय नै गरिसकेका छन् ।शुक्रबारमात्रै कांग्रेसले डोल्पामा गठबन्धन नगर्ने निर्णय गरेको छ । नेकपा माओवादी र नेकपा एकीकृत सामाजवादीले पेलेरै जान खोजेपछि एक्लाएक्लै चुनाव लड्ने निर्णय गरिएको कांंग्रेस डोल्पा सभापति दीपेन्द्र शाही बताउँछन् ।

कर्णाली प्रदेशका १० जिल्लमध्ये सुर्खेत, दैलेख र मुगु बाहेक अन्य ७ जिल्लामा आफ्नो बलियो प्रभाव रहेको माओवादी केन्द्रको दावी छ । प्रदेशका ७९ वटा पालिकामध्ये ४३ पालिका माओवादी एक्लै चुनाव लडेपनि जित्ने सक्ने माओवादी केन्द्रका एक नेता बताउँछन् ।

‘माओवादीको बलियो जनआधार भएको एउटा मात्रै प्रदेश कर्णाली हो । केही कम्प्रमाइज गरिन्छ तर हदैसम्मको कम्प्रमाइज गर्न सकिदैन’ ती नेताले भने ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन मतदान बिहान ८ बजेदेखि

४ बैशाख २०७९, आईतवार ०१:३३
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकाे लागि आइतबार हुन लागेकाे निर्वाचनकाे सबै तयारी पूरा भएकाे छ । बिहान ८ बजेदेखि हुन लागेकाे मतदानका लागि मतदान स्थलको तयारी पूरा भएको  निर्वाचन समितिले जनाएकाे हाे । मतदान वीरेन्द्रनगर नगरपालिका-६ मा रहेकाे सीटी हलमा ताेकिएकाे छ । एकै पटक २० जनाले मतदान […]