एजेन्सी।रुसले आफ्नो देशको पूर्वी क्षेत्र डोनबास कब्जा गर्नका लागि गम्भीर आक्रमण सुरु गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।रुसले डोनबास क्षेत्रका शहर-बजारमा सोमबार मिसाइल, रकेटसँगै गोलाबारी गरेको थियो । भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले डोनबास क्षेत्रको रक्षाका लागि संघर्ष सुरू भएको बताए ।
युक्रेनका प्रमुख सुरक्षा अधिकारी ओलेक्सी दानिलोभका अनुसार रुसी सैनिकले युक्रेनी अग्रपंक्तिलाई तोड्ने प्रयास गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।किएभ कब्जा गर्न असफल भएको रुसले डोनबास क्षेत्रमा आक्रमण केन्द्रित गरेको हो । सोमबारदेखि उसले सो क्षेत्रमा ठूलो मात्रामा गोलाबारी थालेको हो ।
लुहान्स्कको क्रेमिन्ना तथा डोनेट्स्कसहितका पूर्वी क्षेत्रमा रुसले सोमबार गरेको गोलाबारकिा कारण कम्तीमा ८ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय अधिकारीले उल्लेख गरेका छन् । लुहान्स्क क्षेत्रको अवस्था निकै नाजुक रहेको त्यहाँका गभर्नरले बताएका छन् ।
यस्तै, पश्चिमी शहर लभिभमा गरेको मिसाइल आक्रमणमा कम्तीमा सातजना सर्वसाधारणको मृत्यु भएको छ । त्यहाँ अरू ११ जना घाइते भएका छन् ।भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘हाम्रा सैनिकले हाम्राे रक्षा गर्ने छन् । कुनै पनि कुरा नछोड्नु होला ।’
‘रुसी सैनिकको निकै ठूलो अंश अहिले डोनबास क्षेत्रमा केन्द्रित भएको छ । तर जति नै सैनिक आए पनि हामीले संघर्ष गर्ने छौँ’, जेलेन्स्कीले भनेका छन् ।रुसले लुहान्स्कको ९३ प्रतिशत र डोनेट्स्कको ५४ प्रतिशत भाग आफ्नो कब्जामा आएको दाबी गरेको छ । ती क्षेत्रमा बाँकी रहेका युक्रेनी सैनिकलाई घेराबन्दी गर्ने प्रयास भइरहेको रुसले बताएको छ ।