सुर्खेत।निर्वाचन आयोगले उम्मेदवारको राजीखुसी र दलको आधिकारिक निर्णयविना कसैको पनि उम्मेदवारी फिर्ता गराउने कार्यमा सहभागी नहुन आह्वान गरेको छ।आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै चुनावमा भाग लिन पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान गर्दै उम्मेदवारी फिर्ताका लागि डर, धाक धम्की, धरपकड र प्रलोभन नदेखाउन चेतावनी दिएको हो।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले भनेका छन्, ‘कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता गतिविधिले संविधान र प्रचलित कानुनबमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न निर्वाचित हुन र शासकीय प्रणालीमा सलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानुनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानुन र लोकतन्त्रमाथि आघात पुर्याउने भएकोले यस्ता हर्कत नगर्न नगराउन आयोग सरोकारवालाहरू सबैप्रति आग्रह गर्दछ।’
शुक्रबार वैशाख ३० गते हुने चुनावका लागि मनोनयन आइतबार र सोमबार भएको मनोनयन फिर्ता लिनका लागि निर्वाचन आयोगले समय दिएको छ।साँझ ५ बजेसम्म दिइएको समयमा बागी उम्मेदवारलाई फिर्ता गराउन दलहरूले कोसिस गरिरहेको अवस्थामा आयोगले इच्छा विपरीत त्यस्ता काम नगर्न भनेको हो। विशेष गरी पाँच दलले गठबन्धन गरेका ठाउँमा ठूला दलबाटै बागी उम्मेदवार हुँदा समस्या देखिएको छ।