काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको करिब ८ महिनापछि नेकपा एकीकृत समाजवादीले मन्त्रीको ‘सेट’ नै हेरफेर गरेको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले यसअघिका (स्वास्थ्य राज्यमन्त्री) बाहेक सबैलाई फिर्ता पठाउँदै नयाँ नाम सिफारिस गरेको हो ।
प्रधानमन्त्री देउवालाई पठाइएको नाममा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा रहेका छन् ।
खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए भने शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।
पार्टी जोगाउन हेरफेर
देउवा सरकारमा सहभागि दलहरुको शक्ति सबैको हारहारीको छैन । तर, मन्त्रिपरिषदमा सहभागिता भने नेपाली कांग्रेसबाहेक दलको उस्तै हैसियतमा भएको छ ।एकीकृत समाजवादी भन्दा झण्डै दोब्बर ठूलो रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले मन्त्रिपरिषदमा पठाएको मन्त्रीको संख्या समान (पाँच) हो ।
आफ्नो पार्टी बन्ने क्रममा रहेकाले त्यसलाई बुझिदिन अध्यक्ष नेपालले आग्रह गरेपछि एकीकृत समाजवादीलाई पनि राम्रै संख्यामा मन्त्री दिइएको थियो ।सरकारमा पठाउँदा पनि नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्न संख्या पु¥याउन भूमिका खेलका नेतालाई प्राथमिकता दिएका थिए ।
पर्यटनमन्त्री बनेका प्रेम आले र श्रम मन्त्री बनेका किसान श्रेष्ठले एमालेबाट धेरै संख्यामा सांसद ल्याएकाले उनीहरुलाई पुरस्कार स्वरुप पहिलो लटमै बनाइएको चर्चा चलेको थियो । त्यसका लागि उतिखेर मन्त्रीका लागि चर्चामा रहेका मेटमणि चौधरी लगायतलाई अन्तिम समयमा रोकिएको थियो ।
मन्त्रीका आकांक्षी भए पनि मन्त्री बन्न नपाएकाहरुलाई ६ महिनापछि पालो आउने भन्दै अध्यक्ष नेपालले थुमथुम्याएका थिए । उति बेला पठाउँदा नै ६ महिनाको भाका राखेर पठाइएकाले कुनै पनि बेला फर्किनु पर्नेमा सबै मानिसिक रुपले तयार भएको उपमहासचिव गंगालाल तुलाधर बताउँछन् ।
‘हाम्रो पार्टीबाट जुन मन्त्रीहरु मन्त्रिमन्डलमा हुनुहुन्थ्यो, उहाँहरु यो भन्दा अगाडि नै मानिसकरुपमा फर्किनुपर्छ कुनै दिन भनेर तयार हुनुहुन्थ्यो,’ उनको भनाइ छ ।
६ महिनाको भाका कटेपछि नयाँ आकांक्षीले मन्त्रीपरिषदबाट नेताहरुलाई फिर्ता बोलाउनका निम्ति अध्यक्ष नेपाललाई निकै दवाव दिएका थिए । नेपालले स्थानीय चुनावका बेला मन्त्री हेरफेर गर्नु राम्रो नहुने भन्दै बजेट आउनेबलासम्म कुर्न भनेर थमथम्याएका थिए । यो बीचमा आफूलाई मन्त्री नबाउने भए एमालेमै फर्किने धम्की समेत अध्यक्ष नेपाललाई दिएको बताइन्छ ।
पुरानालाई बजेटमार्फत् आफ्ना कुरा ल्याएपछि फिर्ता बोलाइएको र नयाँ आकांक्षीलाई सरकारमा पठाएकाले एकीकृत समाजवादी भित्र जान सक्ने सम्भावित पहिरो रोकिने कतिपय नेताको भनाइ छ ।
भएन मूल्यांकन
आठ महिनाअघि सरकारमा पठाएका मन्त्रीहरुको कार्यप्रगति मिश्रित खालको थियो । दरबार संग्राहालय र पशुपतिनाथमा रहेको धर्मशालामा निजी व्यवसाय गर्ने अनुमति पाएको बतास समूहलाई त्यहाँबाट निकालेकोमा पर्यटन मन्त्री प्रेमबहादुर आलेको चर्चा भएको थियो । कतिपयले राम्रो काम गरेको भनेर उनको प्रशंसा समेत गरेका थिए ।
आलेसमेतलाई फिर्ता बोलाएको एकीकृत समाजवादीले कसैको मुल्यांकन नगरेको र मन्त्री आफैंले स्वमूल्यांकन गर्न सक्ने बताएको छ । ‘केहीको पफर्मेन्स एकाध मिडियाले हल्ला गरेका कारणले राम्रो भन्न पनि सकिएला । र, केहीको जति हुनुपर्ने थियो, त्यति भएन भन्न पनि सकिएला । तर, हामी त्यो रुपमा गएका छैनौं,’ उपमहासचिव तुलाधर भन्छन्, ‘व्यक्तिको स्वमूल्यांकन एउटा कुरा हो । उहाँहरुलाई पनि स्वमूल्यांकन गर्नुहोस् भनेर हामीले भनेका छौं ।’
सरकारबाट फिर्ता बोलाएका केही मन्त्रीहरुले भने आफूलाई किन र कुन कमिटीबाट फिर्ता बोलाइएको भन्ने जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।@RSS