कालिकोट।अविरल वर्षा,बाढी तथा पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा आएको छ। गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो।
राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो। राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि सहज भएको छ ।
बाढीपहिरोका कारण राजमार्गको करिब ४० किलोमिटर सडक अवरुद्ध भएको थियो। जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखको दही खोला–जुम्लासम्मको एक सय चार किलोमिटरमध्ये ४० किमी सडक पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको थियो।
अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन जुम्ला र नेपाली सेना निरन्तर खटेको थियो।सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले अवरुद्ध सडक खुलाउन कार्यालयका एक सयभन्दा बढी जनशक्ति खटिएको बताए।