सुर्खेत । नेकपा एमालेले भोलि कात्तिक २७ गते सुर्खेतको वीरेन्द्रनगरमा बृहत् चुनावी जनसभा गर्ने भएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी आयोजना हुने सभालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
चुनावी सभामा उल्लेख्य मात्रामा जनसहभागिता हुने एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए।
उनका अनुसार घण्टाघर पश्चिमपट्टिको मैदानमा हुने जनसभाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। स्थानीय मंगलगढीचोकबाट बिहान ११ बजे र्याली निकालिने एमाले सुर्खेतले जनाएको छ।
जनसभामा चर्चित लोक गायक बद्री पंगेनीसहितका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत हुनेछ। एमाले स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका नेताहरूले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
भोलि नै दैलेखमा हुने एमालेको चुनावी जनसभालाई पनि अध्यक्ष ओलीसहितका नेताहरूले सम्बोधन गर्ने छन्। अध्यक्ष ओली निर्वाचनअघि देश दौडाहामा छन्। स्थानीय चुनावभन्दा ६ प्रतिशत मत बढाउने लक्ष्यसहित एमालेले देशव्यापी चुनावी अभियानलाई तीव्र पारेको छ।

