स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना सुरु गर्ने सहमति

कर्णाली अनलाइन १४ मंसिर २०७९, बुधबार २०:११

स्याङ्जा : निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु हुने भएको छ।स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै बुधबार राति ९ बजेदेखि गणना हुने भएको हो ।

मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि सुरु गर्ने सहमति भइसकेको उनले बताए।

निर्वाचन आयोगले स्याङ्जा २ को मतगणना सुरु गर्न निर्देशन दिएसँगै मतगणनाका लागि प्रक्रिया थालिएको हो। दिउँसो ४ बजेदेखि सर्वदलीय बैठक जारी रहेको छ । यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन।

चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा (एमाले)ले पुनः मतदानको माग गर्दै आइरहेको थियो।

कांग्रेसले भने जनताको अभिमतको सम्मान गर्दै छिटोभन्दा छिटो मतगणना गर्नुपर्ने अडान राख्दै आएको थियो । दुवै दलले आआफ्ना माग पूरा गर्न माग गर्दै वालिङमा विगत दश दिनदेखि निरन्तर धर्ना तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए ।

यसबीचमा निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमा तीन सदस्यीय टोली स्थलगत अध्ययन अवलोकनका लागि पठाएको थियो।क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याल मुख्य प्रतिस्पर्धामा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानी मदरसामा विस्फोट : १६ को मृत्यु‚ २४ घाइते

१४ मंसिर २०७९, बुधबार २०:११
काबुल।अफगानिस्तानमा बम विस्फोटमा कम्तीमा १६ जना विद्यार्थीको मृत्यु भएको छ। त्यस क्रममा २४ जना घाइते भएका छन्।बम विस्फोट सामंगन प्रान्तको मध्यभागमा रहेको ऐबाक शहरको मदरसामा भएको थियो। अफगानिस्तानमा वेलावेला यस्ता आतंकवादी घटना हुने गरेका छन्। दुई महिनाअघि काबुलमा पनि बम विस्फोट भएको थियो। अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरले […]