सुर्खेत।कर्णालीका तीन जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री नियुक्त भएको ९४ दिनपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसी ,सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेल रअर्थमन्त्री बेदराज सिंहको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।
उनीहरू तीनै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीसँग दैलेख गुराँस गाउँपालिका–६ मा ३ हजार ७८० वर्ग मिटर क्षेत्रफलमा घर रहेको छ भने वीरेन्द्रनगरमा २ ठाउँमा उनको घर छ । त्यो सबै पुर्ख्यौली सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् ।
यस्तै उनीसँग विभिन्न ६ ठाउँमा जग्गा जमिन रहेको छ । उनको नाममा गुराँस गाउँपालिका–६ मा तीन ठाउँमा र वीरेन्द्रनगरका दुई ठाउँमा घडेरी रहेको छ । त्यसको स्रोत पनि उनले पैतृक सम्पत्ति नै उल्लेख गरेका छन् ।
उनीसँग १५ तोला सुन, ३० तोला चाँदी र १५ केजी तामा रहेको छ । त्यो पनि पैतृक सम्पत्ति नै हो । उनको तीन वटा बैंकमा गरी ४ लाख २ हजार बराबर रकम मौज्दात रहेको छ । साथै उनीसँग त्यो भन्दा बढी ऋण रहेको उल्लेख गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्कबाट उनले २० लाख ऋण लिएको र अहिलेसम्म ११ लाख ऋण तिरेको उल्लेख छ । यस्तै एनएमबि बैकबाट पनि उनले २० लाख नै ऋण लिएका थिए । त्यसमध्ये अहिलेसम्म १ लाख बराबर ऋण तिरिसकेका छन् भने बाँकी उनीसँग २८ लाख ऋण छ । उनीसँग कुनै सवारी साधन छैन ।

