एकदिवसीय विश्वकप विजेता बन्यो अस्ट्रेलिया

कर्णाली अनलाइन ३ मंसिर २०८०, आईतवार २२:५४

काठमाडौँ।अस्ट्रेलियाले भारतलाई ६ विकेटले सहजै पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप उपाधि जितेको छ।भारतले पहिले ब्याटिङ गर्दै जितका लागि दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ७ ओभर खेल्न बाँकी रहँदै ४ विकेटमात्र गुमाएर भेट्टायो।

ट्राभिस हेडको शतक र मार्नस लाबुशेनको अर्धशतकको सहायताले अस्ट्रेलियाले सहजै उपाधि जित्यो।अस्ट्रेलियाले यसपटकको सहित गरेर छैटौँपल्ट एकदिवसीय विश्वकप जितेको कीर्तिमान पनि बनाएको छ। यसअघि अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसीय क्रिकेटको विश्वकप जितेको थियो।

गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले २४० रन बनाएको थियो।चौथो विकेटका रुपमा आउट हुनुअघि ट्राभिस हेडले १२० बलमा १३७ रन बनाए। उनले १३७ रन बनाउने क्रममा ४ छक्का र १५ चौका प्रहार गरे। डेविड वार्नरसँग ओपनिङमा आएका उनी आउट हुँदा अस्ट्रेलियालाई जितका लागि २ रनमात्र चाहिएको थियो।

लाबुशेनले ११० बलको सामना गरेर ४ चौका प्रहार गर्दै ५८ रन बनाए। वार्नर ७ रनमात्र बनाएर आउट हुँदा अस्ट्रेलियाको स्कोर १६ रनमात्र थियो। त्यसपछि टिमको स्कोर ४१ रन हुँदा मिचेल मार्श आउट भए। उनले १५ बल खेलेर १५ रन बनाए।

त्यसपछि तेस्रो विकेटका रुपमा पूर्व कप्तान स्टिव स्मिथ ९ बलमा ४ रनमात्र जोडेर आउट भए। चौथो विकेटका लागि हेड र लाबुशेनले १९२ रनको साझेदारी गरेका थिए।

उनीपछि क्रिजमा आएका ग्लेन म्याक्सवेलले पहिलो बलमा नै २ रन लिँदै अस्ट्रेलियालाई विश्वकप विजेता बनाए।भारतको बलिङ आज निकै फिक्का देखियो। भारतीय बलरले नै एक्स्ट्रा १८ रन दिए। उसका लागि जसप्रित बुमरा‚ मोहम्मद सामी र मोहम्मद सिराज तीनैजनाले १/१ विकेट लिए।

भारतले घरेलु मैदानमै पनि आज सशक्त ब्याटिङ गर्न नसक्दा जितका लागि पाहुना टोलीका लागि गतिलो लक्ष्य दिन सकेन। भारतले पहिले ब्याटिङ गर्दै ५० ओभरमा अल आउट भएर २४० रन बनायो।

घरेलु टोलीका लागि कप्तान रोहित शर्माले शानदार शुरुवात गर्न प्रयास गरे पनि भारतले नियमित अन्तरालमा विकेट गुमाउँदै दबाबमा परेको थियो। १० ओभर २ बलमा ८१ रनमा ३ विकेट गुमाइसकेको भारतको पाली त्यसपछि कोहली र केएल राहुलले सम्हालेका थिए।

राहुलले बनाएको व्यक्तिगत ६६ रन नै भारतका लागि सर्वाधिक रन रह्यो।

ओपनिङमा शानदार शुरुआत गरेका कप्तान शर्मा दोस्रो विकेटको रुपमा ४७ रन बनाएर आउट भए। उनले ३१ बलमा ४ चौका र ३ छक्का हिर्काए। ओपनर सुभमन गिल ४ रनमात्र बनाएर आउट भए। ४ रन बनाएर श्रेयस ऐय्यर पनि आउट भए।

विराट कोहली ५४ रन बनाएर बोल्ड भए। ५१औँ एकदिवसिय शतक बनाउने धुनमा रहेका उनी गतिलो ब्याटिङ गरिरहेका वेला अस्ट्रेलियाली कप्तान प्याट कमिन्सको बलमा आउट भए।

कमिन्सको बल कोहलीले क्लियर गर्न खोज्दा इनसाइड एज लागेर स्टम्प ढलेको थियो। स्टम्प ढलेपछि कोहली विस्मित भएका थिए। उत्कृष्ट लयमा रहेका उनले आज ५६ बलमा अर्धशतक पूरा गरेका थिए। उनले ६३ बल खेलेर ४ चौकाको सहायतामा ५४ रन बनाए।

कोहली आउट भएपछि क्रिजमा आएका अलराउन्डर रविन्द्र जडेजा २२ बलमा ९ रनमात्र बनाएर अस्ट्रेलियाली कप्तान प्याट कमिन्सको बलमा विकेटकिपर इंग्लिशबाट क्याच भए।

सुदृढ फिल्डिङ गरेको अस्ट्रेलियाले भारतीय ब्याट्सम्यानलाई खुलेर खेल्न दिएन। घरेलु मैदानमै पनि भारतले यसअघिजस्तो आज छक्का र चौकाको बर्सात गर्न सकेन। कोहली आउट भएपछि भारतले चौका हान्न १ घण्टा कुर्नुपरेको थियो।

राहुलले १०७ बलमा ६६ रन बनाएर छैटौँ विकेटका रुपमा मिचेल मार्शको बलमा विकेटकिपर इंग्लिशबाट क्याच भए। उनले आफ्नो पालीमा एउटा चौकामात्र प्रहार गरे।

भारतका लागि मोहम्मद सामीले १० बल खेलेर ६ रनमात्र बनाए। उनी सातौँ विकेटका रुपमा आउट हुँदा भारतको स्कोर ४३ ओभर ४ बलमा २११ रन थियो। उनलाई पनि स्टार्कले विकेटकिपर इंग्लिशको हातबाट क्याच गराए।

भारतको स्कोर २१४ रन हुँदा ४५औँ ओभरमा जसप्रित बुमरा ३ बलमा १ रनमात्र बनाएर एडम जाम्पाको बलमा एलबीडब्ल्यू भए।

कुल स्कोर २२६ रन हुँदा भारतको नवौँ विकेटका रुपमा सूर्यकुमार यादव ४८औँ ओभरको तेस्रो बलमा आउट भए। २८ बलमा १ चौकाको सहायतले १८ रन बनाएका उनले ह्याजलउडको बलमा विकेटपछाडि इंग्लिसको हातमा क्याच थमाए।

कुलदीप यादव १० रन बनाएर पालीको अन्तिम बलमा रन आउट भए भने एउटा चौका हानेका मोहम्मद सिराज ९ रनमा अविजित रहे।

मिचेल मार्सले ३/३ विकेट लिए भने अस्ट्रेलियाली कप्तान प्याट कमिन्स र जस ह्याजलउडले २/२ विकेट र ग्लेन म्याक्सवेल र जाम्पाले १ विकेट लिए। विकेटकिपर इंग्लिशले ५ क्याच समाते।

खेलका केही झलकः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इलाममा विद्यार्थी बोकेको बस दुर्घटना, ३७ जना घाइते

३ मंसिर २०८०, आईतवार २२:५४
काठमाडौँ। इलामको रोङ गाउँपालिकाको किटेनीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । आज आइतवार भएकाे दुर्घटनामा गाडीमा रहेका ३७ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी नजिकका अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) वासुदेव खतिवडाले बताउनुभयो । धनुषाको धारापानीबाट इलाम घुम्न गएको विद्यार्थीको […]