वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१ विहिबार सम्पन्न

कर्णाली अनलाइन १ कार्तिक २०८१, बिहीबार २०:१६

सुर्खेत। जिल्लाको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर सुर्खेतले संस्थामा कार्यरत कर्मचारीहरुको सहभागितामा कर्मचारी सम्मेलन सम्पन्न गरेको छ । ८० जना कर्मचारीहरुको सहभागितामा विहीबार वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१ सम्पन्न भएको हो ।

हाल संस्थामा ८३ जना कर्मचारीहरु कार्यरत रहेका छन् । संस्थाका अध्यक्ष बमबहादुर बिसीले संस्थाको वर्तमान शाखलाई कायम राख्दै अझ बलियो, भरपर्दो र विश्वासिलो संस्था निर्माणमा दत्तचित्त भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारी सम्मेलनले कर्मचारीहरुको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि भएको र काम गर्ने जोश जाँगर र उत्साहमा वृद्धि भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले जनाए ।

बुधबारदेखि शुरु सम्मेलन आज (विहीबार) सम्पनन भएको हो । कर्मचारी सम्मेलनमा सहकारी प्रशिक्षक सञ्जयराज तिमिल्सेनाले सहजीकरण गरेका थिए ।

वीरेन्द्रनगर सहकारीको सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको छ भने करिब २४ हजार शेयर सदस्य रहेका छन् । करिब १ अर्व ३० करोडको कुल पूँजी तथा दायित्व र सम्पत्ति रहेको वीरेन्द्रनगर सहकारीले विगत २३ वर्षदेखि निरन्तर रुपमा सुर्खेत जिल्लाभर वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गरिरहेको छ ।

-वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन–२०८१ बाट पारित १० बुँदे प्रतिवद्धता पत्र (संकल्प प्रस्ताव) यस्ता छन्-
१. संस्थाको कार्यक्षेत्र भित्रका जुनसुकै लिङ्ग, वर्ग, समुदाय, जाति, धर्म र भेषभुषाका मानिसहरूको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका लागि विना भेदभाव प्रभावकारी वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्नेछौं ।
२.सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त बमोजिम एक व्यक्ति एक मतको मर्मलाई आत्मसाथ गर्दै सदस्यहरूबाट चुन्ने चुनिने र नियन्त्रण गर्ने प्रजातान्त्रिक परिपाटी र प्रणालीलाई संस्थागत गर्ने प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्नेछौं ।
३.संस्थाको आन्तरिक श्रोतलाई मजबुद बनाउनका लागि बचत तथा ऋणका सेवाहरूलाई विविधिकरण गरि सबै सदस्यलाई बचतमा सहभागी हुन प्रेरित गर्ने, आवश्यकता र क्षमताका आधारमा सदस्यको आर्थिक समस्या समाधानमा ऋण लगानी गरी सदस्यको आर्थिक जीवनको सहयोगीको रूपमा कार्य गर्नेछौं ।
४.संस्थामा सुशासन र पारदर्शिता कायम गर्नका लागि प्रचलित कानुनको अधिनमा रहि नीति, विधि र प्रविधिको विकास र सोको अक्षरस पालना गर्दै संस्थालाई राजनीतिक तथा धार्मिक रूपमा प्रभावरहित बनाउने र सदस्यबाट नियन्त्रण गर्ने प्रणालीलाई स्थापित गराउनेछौं ।
५.नियमित रूपमा अध्ययनशिल भई ज्ञान आर्जन गर्ने, हरेक काममा सिर्जनशिलता ल्याउने र आफूले सिकेको विषयवस्तुका बारेमा संस्थाको परिवार एवं समुदायमा जानकारी प्रदान गर्दै सहकारी शिक्षा र वित्तीय साक्षरता मार्फत संस्थाका वित्तीय तथा गैरवित्तीय सेवाहरुको प्रभावकारीता समुदायमा सञ्चार गर्नेछौं ।
६.स्थानीय संघ, संस्था र बन्धु सहकारीसँग निरन्तर भेटघाट, सम्बन्ध विस्तार र सहकार्य एवं समुदाय केन्द्रित कार्यक्रम मार्फत संस्थालाई समुदायमा पूर्ण रूपमा स्थापित गराउनका लागि जिम्मेवार र जवाफदेहीपूर्वक कार्य सम्पादन गर्नेछौं ।
७.समुदायको आर्थिक, सामाजिक र पर्यावरणीय विकासमा सहयोगी भई समाजबाट कुरीति, कुसंस्कार, विसङ्गतीको अन्त्य गर्नका लागि मानिसहरुलाई एकिकृत गर्ने, अभियान चलाउने, जनचेतना फैलाउने, समाजलाई जागृत बनाई स्वच्छ, स्वतन्त्र र समृद्ध समाज निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्नेछौं ।
८.संस्थाले प्राप्त गरेका उपलब्धी, संस्थाको साख र सदस्यको बचत सुरक्षाको प्रत्याभूति दिलाउँदै दिगो र प्रतिस्पर्धी संस्था निर्माणको परिकल्पना साकार पार्न लागि पर्नेछौं ।
९.संस्थाका सदस्य, साधारणसभा र सञ्चालक समितिप्रति उत्तरदायी भई संस्थाको समग्र वृद्धि विकासका लागि हरपल लागी पर्नेछौँ साथै कर्मचारी आचारसंहिताको पूर्ण पालना गर्दै संस्थाको पहिचान र ख्याति वृद्धि गर्नका लागि आवश्यक व्यक्तिगत आचरण र व्यवहारको विकास गर्नेछौं ।
१०.वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. को वर्तमान शाखलाई कायम राख्दै थप बलियो, भरपर्दो र विश्वासिलो संस्था निर्माणमा थप सिर्जनशिल, जिम्मेवार र जवाफदेही हुने दृढ संकल्प गर्दछौं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *