एजेन्सी।कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्लुएचओका अधिकारीले बताएका हुन् ।
दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्लुएचओले यस्तो बताएको हो ।अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन धेरै बाँकी रहेको बताएका छन् ।
तर डब्लुएचओका डा. माइक रायनले अहिलेसम्मका तथ्यहरुमा ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली नदेखिएको बताए । अर्थात खोपले ओमिक्रोनबाट संक्रमित भएकाहरुलाई गम्भीर बिरामी पर्नबाट रोक्ने उनको भनाइ छ ।
डब्लुएचओका आपतकालीन निर्देशक डा. रायनले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘हामीसँग प्रभावकारी खोप छन् र ती खोपहरु सबै भेरियन्टविरुद्ध गम्भीर बिरामी र अस्पताल भर्ना हुने अवस्था आउन नदिन सक्षम रहेको प्रमाणित भएको छ । अहिलेसम्म ओमिक्रोनविरुद्ध पनि खोप प्रभावकारी देखिएको छ ।’
डेल्टा वा अरु भेरियन्टले भन्दा बढी बिरामी ओमिक्रोनले नबनाउने प्रारम्भीक तथ्यहरुले देखाएको उनले बताएका छन् । खोपले कम्तीमा पनि गम्भीर बिरामी हुनबाट रोक्ने देखिएको डा. रायनले बताए ।

