काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् ।मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पु¥याइरहेको बताएकी छन् ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु” शुभकामना सन्देशमा भनिएको छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अङ्ग बनेको बताएका छन् । ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार–२८५८ को अवसरमा शुभकामना दिँदै उनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताएका छन् ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष गरी तामाङ जातिले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।@RSS

