अलमलमा एमाले : चोलेन्द्रलाई नबोक्‍ने, एमसिसीबारे ‘पर्ख र हेर’मै

कर्णाली अनलाइन २ फाल्गुन २०७८, सोमबार ११:११

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने निष्कर्ष निकालेको छ। सत्ता गठबन्धनका नेताहरूले प्रधानन्यायाधीशमाथि महाभियोग लगाएपछि बसेको संसदीय दलको बैठकले पार्टीले परिस्थितिअनुसार आवश्यक निर्णय लिने निर्णय गरेको हो।

बैठकमा सांसदहरूले महाभियोग र एमसिसीको बारेमा पार्टीको प्रष्ट धारणा खोजेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले आवेग, उत्तेजना र प्रतिशोधका आधारमा कुनै निर्णय नलिने भन्दै परिस्थिति हेरेर निर्णय गर्ने बताए।

‘अहिले महाभियोग निर्वाचनलाई जसरी पनि सार्न या टार्न खोज्ने र एमसिसी जसरी पनि पारित गरेर लोकतन्त्रमाथि हमला भएको छ। यो एउटा महत्वपूर्ण प्रवृत्ति छ। यो व्यक्तिप्रति मात्रै आक्रमण होइन’ ओलीको भनाइलाई उदृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भने।

ओलीले एमालेले प्रधानन्यायाधीश राणालाई बोकेर हिँड्ने मनशाय पनि नरहेको स्पष्ट पारे। ‘हामीले उहाँलाई बोकेर हिँड्नुपर्छ भन्ने होइन। उहाँले राम्रो काम गर्नुभएको भन्ने पनि छैन। उहाँप्रति धेरै आलोचना भएको छ। परमादेश गराउने नेतृत्व उहाँले नै गर्नुभयो। त्यहीबाट बिथोलिएको छ’ ओलीले भने, ‘अहिले गठबन्धनले अदालत गिजोल्ने, एमसिसी पास गर्ने र चुनाव सार्ने लक्ष्यका साथ आएको छ। हामीले त्यसलाई आवश्यक पर्दा सडक, न्यायालय र कानुनी रूपमा पनि गर्नुपर्छ।’

एमसिसीबारे ‘पर्ख र हेर’मै 

एमसिसीको बारेमा प्रधानमन्त्री देउवाले सम्झौता गरेको भएकाले सरकारबाटै स्पष्ट धारणा आएपछि मात्रै पार्टीले धारणा बनाउने बताए। ‘कांग्रेस र माओवादीले सम्झौता गरेको हो। अहिले उहाँहरु नै सरकारमा हुनुहुन्छ। संसदको विधेयक बनिसकेको भएकाले हामीले संसदमा टेबल गरेका हौँ। अब सरकारले एमसिसीबारे एउटै धारणा नल्याएसम्म एमाले पर्ख र हेरको नीतिमा छ। आवश्यक परे जनता र राष्ट्रहितमा निर्णय लिन्छ’ ओलीको भनाइ छ।

एमालेले सभामुख र केही न्यायाधीशलाई महाभियोग लगाएर काउन्टर दिने भन्नु कुरामा कुनै सत्यता नभएको बताए। ‘अहिले हामीले कुनै निर्णय गरेको छैनौँ। आवश्यक परेमा शिर्ष नेताहरुले छलफलबाट निर्णय गर्नुहुन्छ’ प्रमुख सचेतक भट्टराइले भने।

त्यसो त एमाले सचिव योगेश भट्टराइले भने एमसिसीको पक्षमा हात उठाउने या विरोध गर्ने नभएको बताए। सत्ता पक्षको कुरा आएपछि मात्रै स्पष्ट रुपमा धारणा बनाउँछौँ। एमसिसी बहुमतले पारित गर्ने हो दुई तिहाइ चाहिने होइन। उहाँहरूसँगै स्पष्ट बहुमत छ’ उनले भने।

उनले सत्ता गठबन्धनले स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप गरेको आरोप लगाए।  सत्ता पक्ष र प्रतिपक्षबीच द्वन्द्व बढाएर मुलुकलाई असफल राष्ट्रतिर धकेल्ने नियोजित षडयन्त्रमा कांग्रेस फसेको टिप्पणी गरे।

भीम रावल र घनश्यामका कुरा 

बैठकमा एमाले नेता भीम रावल र घनश्याम भुसाल चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान नसकिने नेतृत्वलाई प्रष्ट पारेका छन्। बैठकपछि बाहिरिने क्रममा भुसालले भने, ‘अहिलेको अवस्थामा चोलेन्द्र र एमसिसीलाई बोकेर चुनावमा जान सकिँदैन भनेर प्रष्ट रूपमा नेतृत्वलाई भनेका छौँ।’ त्यसो त एमाले पार्टी पर्ख र हेरको अवस्थामा रहेको बेलामा नेता रावल एमसिसीको विपक्षमा उभिनुपर्ने धारणा राखेका थिए।@thahakahabar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उच्च अदालत सुर्खेतमा पर्यटन मन्त्री कार्चेनविरुद्ध मुद्दा दायर

२ फाल्गुन २०७८, सोमबार ११:११
सुर्खेत। कर्णालीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्डोल लामा (र्कार्चेन लामा)विरुद्ध मुद्दा दर्ता गरिएको छ । फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको हाे। रिटमा प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको छ । मध्यपश्चिम विश्वविद्यालयकी कानून विद्यार्थी […]