दैलेख।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका ५ दलसहित ८ दल चुनावी प्रतिस्पर्धामा छन्। जिल्लामा नेकपा (एमाले) नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी राष्ट्रिय दलको रुपमा सक्रिय छन्।
जिल्ला निर्वाचन कार्यालय दैलेखले दिएको जानकारी अनुसार राष्ट्रिय दलको मान्यता नपाएका नेपाल मजदुर किसान पार्टी ,राष्ट्रिय प्रजातन्त्र पार्टी ,राष्ट्रिय जनमार्चा पार्टी ,सामाजिक एकता पार्टी ,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल,जनसमाजवादी पार्टी नेपाल,नेपाल परिवार दल र उन्नत लोकतन्त्र पार्टीले निर्वाचनमा भाग लिन दल दर्ता गराएका छन्।
अघिल्लो स्थानिय तहको निर्वाचनको तुलनामा दैलेखमा २५ हजार ४९७ मतदाता बढेका छन्। २०७४ सालको निर्वाचनमा एक लाख ३२ हजार ९९२ मतदाता रहेकोमा अहिले बढेर एक लाख ५८ हजार ४८९ पुगेका छन्। कुल मतदातामध्ये ७८ हजार ९१९ जना पुरुष र७९ हजार ५७० जना महिला रहेका छन्।

