प्रदेश पदाधिकारीहरूको तलव र सेवा सुविधा अन्य प्रदेशसरह पुर्‍याएका छौं’ -मुख्यमन्त्री शाही

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार १६:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश पदाधिकारीहरूको तलव र सेवा सुविधा अन्य प्रदेशसरह पुर्‍याइएको बताएका छन् ।बुधबार नियमित पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहीले अन्य प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री, विपक्षी दलका नेता र सांसदहरुको पारिश्रमिक विवरण पत्रकारलाई वितरण गरेका थिए । र, उनले भने, ‘तलव, सुविधा बढाएको भन्दै तपाईहरुले बिग स्टोरी बनाउनुभयो । यो हेर्नुस, हामीले सेवा सुविधा बढाएका हैनौं, अन्य प्रदेश सरह बनाएका हौं ।’

उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको सहमतिमै तलब सुविधा बढाइएको जिकिर गरे । प्रदेश सभा सदस्यहरूको मर्यादाक्रम अनुसार पारिश्रमिक नभएको गुनासो प्रदेशसभामै उठेपछि सर्वदलीय सहमतिका आधारमा मन्त्रिपरिषद्बाट सुविधा हेरफेरसम्बन्धी निर्णय गरेको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

प्रदेश सरकारले बढाएको पारिश्रमिक अनुसार प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यसअघि ६० हजार ९७० पाउँदै आएकोमा अब ७० हजार ७३० रुपैयाँ पाउने भएका छन् ।

मुख्यमन्त्री शाहीले यसअघि १५ हजार रुपैयाँ अतिथि सत्कार स्वरुप पाउने गरेकोमा अब २० हजार पाउनेछन् । ५३ हजार तलव पाउँदै आएका मन्त्रीहरुले ६० हजार ३२० रूपैयाँ पाउनेछन् ।मन्त्रीहरुले यसअघि अतिथि सत्कार स्वरुप १० हजार पाइरहेकामा अब मासिक १५ हजार पाउने भएका छन् ।

प्रदेश सभाका सभामुखको तलब पनि वृद्धि भएको छ । यसअघि ५३ हजार मासिक तलव बुझ्ने सभामुख राजबहादुर शाहीले अब ६१ हजार ४८० रुपैयाँ पाउनेछन् । विपक्षी दलको नेता र उपसभामुखले ५० हजार पाइरहेकोमा अब ५८ हजार रुपैयाँ पाउनेछन् ।

सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र समितिका अध्यक्षहरुको तलब समेत वृद्धि भएको छ । यसअघि ४८ हजार तलब पाउँने गरेका उनीहरुले अब ५६ हजार ८४० रुपैयाँ पाउनेछन् ।यसअघि मासिक ४५ हजार पाउँदै आएका सांसदहरुले अब ५२ हजार ६०० रुपैयाँ पाउने छन् । यस्तै सञ्चार सुविधा र भ्रमण भत्तामा समेत वृद्धि गरिएको छ ।मुख्यमन्त्री शाहीले केही सुविधा बढे पनि सातवटै प्रदेशमा सबभन्दा कम सेवा सुविधा पाउने कर्णाली प्रदेशकै पदाधिकारी रहेको दावी समेत गरे ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होटलको छतबाट लडेर पर्यटकको मृत्यु

७ बैशाख २०७९, बुधबार १६:२१
काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर आज एक पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी ब्रिटेन नागरिकलाई प्रहरीले नियन्त्रणमा […]