दैलेख।कर्णालीको दैलेखमा खेलिने लोकनृत्य हो, भोसो। ,जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा पनि भोसो खेलिन्छ।
दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने परम्परा छ ।
जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसी अहिले पनि खेलिन्छ। दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका क्षेत्रमा भोसो संस्कृति कायम छ।
भोसो भिन्न–भिन्न नामले परिचित छ। भोसोलाई कतै भुओ, कतै भोसी त कतै भास्सी पनि भनिन्छ। आदिकालदेखि नै यस खेललाई जस्ताको तस्तै मान्दै आएको पाइन्छ।
यो मूलतः पुरुषप्रधान खेल हो। नारीहरूका लागि रत्यौलीजस्तै भोसोमा पनि अश्लील शब्द प्रयोग गर्ने गरिन्छ। भोसोमा व्यक्त गरिने गालीगलौज विकृतिका रूपमा नभएर सुरुआतकालदेखि नै आएको मान्यता रहेको नारायण नगरपालिका–२ का लालबहादुर थापाले बताए।
पछिल्ला वर्षमा अपशब्द बोल्ने चलन हदैसम्म कम भएको उनले बताए। पुर्खादेखि सुरु भएको यो संस्कृति जस्ताको तस्तै संरक्षण गरेर अगाडि लैजान त्यति सजिलो नभएको उनको भनाइ छ।
भोसोमा सहभागी अर्थात् खेल्नेलाई भुआरा भनिन्छ। भोसोमा कोठी बनाइन्छ, जसलाई जलाउने ठाउँलाई अधिकांश क्षेत्रमा भुवाखाडा भन्ने गरिन्छ। भोसो व्यवस्थापन गर्ने मूलीलाई ‘नायक’ भन्ने चलन छ । त्यस्तै भोसो खेल्दा प्रयोग गर्न सल्लाको दियालोबाट निर्माण गरिने राँको बोक्ने पालकीलाई कोठी भनिन्छ। पहिले–पहिले भोसी खेल सप्ताहव्यापीरूपमा खेलिने गरेको भए पनि पछिल्ला वर्षमा भने छोट्याइएको छ। साभार-रासस