सुर्खेत । चितवनमा भाेलीदेखी नेकपा एमालेकाे १० औं एमाले महाधिवेशन शुरू हुँदैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू चितवन पुगिरहेका छन् । महाधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेश सह-संयोजनक एव् पूर्वमन्त्री यामलाल कँडेलले सचिव पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् ।
कर्णालीले कम्तिमा एक पदाधिकारी दाबी गरिरहेको समयमा उनले सचिव पदका लागि मत माग्न समेत शुरू गरिसकेका छन् । देश संघीय ढाँचामा रूपान्तरण भइसकेकाे अवस्थामा कर्णालीले पनि केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व हुनुपर्ने कँडलेले प्रतिक्रिया दिएका छन् ।
‘व्यक्तिकाे चाहनाभन्दा पनि अनुभवकाे आधारमा नीति निर्माणमा कर्णालीले पनि प्रतिनिधित्व गर्नुपर्छ भन्ने धारणासहित पदाधिकारीमा उम्मेदवारी घाेषणा गरेकाे हुँ,’ कँडेलले भने, ‘कर्णाली प्रदेशकाे वडा, जिल्ला र प्रदेश पदाधिकारी बैठकमा सबैकाे साझा मतका आधारमा दावी हाे ।’ अन्य प्रदेशका नेताहरुबाट नेतृत्व लिरहेका आवस्थामा याे पटक नेकपा एमालेले कर्णालीलाई माया गर्ने अपेक्षा कँडेलकाे छ । महाधिवेशन प्रतिनिधिले कर्णालीलाई सहयोग गर्ने र कर्णालीलाई न्याय दिने दावी कँडेलकाे छ ।

