काठमाडौँ ।काठमाडौं महानगपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा महानगर प्रहरीमाथि भएको आक्रमणमा संलग्नहरुमाथि कानुन अनुसार कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सोमबार साँझ विज्ञप्ति जारी गर्दै सो घटनाको नेतृत्वकर्ता र त्यसमा संलग्नहरुमाथि उजुरी गरेको भन्दै कारबाहीका लागि माग गरेका हुन् ।
‘सो घटना घटाउन नेतृत्व गर्ने तथा आपराधिक कार्यमा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा अपराध अनुसन्धानका लागि महानगरपालिकाबाट पत्र प्रेषित गरिएको छ,’ मानन्धनले भनेका छन् ।
‘सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले खुँडा जस्ता धारिलो हतियार, ढुंगामुढासहितका सामग्रीसहित उपस्थित भई आपराधिक मनसायले एक्कासी महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएका छन्,’ महानगरपालिकाले भनेको छ । महानगरपालिकाले आक्रमणमा परि घाइते भएकी नगरप्रहरी शर्मिला बोगटीसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको जनाएको छ ।
‘सार्वजनिक जग्गामा निर्माण गरिएको अनधिकृत संरचना हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट पटकपटक सार्वजनिक सूचना गरिएको, सम्बन्धित स्थानीय प्रशासनसँग समेत समन्वय तथा पत्राचार भए पनि महानगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने दुःखद घटना घट्न पुगेको अवस्था छ’ विज्ञप्तिमा भनिएको छ ।