सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुँदैछ। यसका लागि २०८१ साल मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने मिति पनि तय भइसकेको छ। तर, समय नजिकिँदै जाँदा संघीय सरकारले भने यसमा कुनै चासो नदिएको गुनासो प्रदेशका खेलकुद विकास परिषद्हरूले गरेका छन्।
पहिलोपटक राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पाएको कर्णाली यतिबेला पूर्वतयारीमा जुटिरहेको छ। हालसम्म राष्ट्रिय प्रतियोगिता नभएको कर्णालीले दशौं खेलकुदलाई प्रतिष्ठाका रूपमा लिएको छ।
त्यसैको तयारी स्वरूप प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माणको काम धमाधम भइरहेको छ। प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लिएको यो रंगशालाको हालसम्म ६० प्रतिशत भौतिक काम सम्पन्न पनि भइसकेको छ। कर्णालीले प्रतियोगिता निर्धारित मितिमै आयोजना गर्नका लागि तीव्र तयारी गरिरहँदा संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले यसलाई प्राथमिकता दिएका छैनन्।
संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि कर्णालीमा खेल पूर्वाधारलाई प्राथमिकता दिएको छैन। यसकारण पनि दशौं खेलकुद प्रतियोगिता तोकिएको मितिमा नहुने आशंका बढेको भन्दै सातवटै प्रदेशका खेलकुद विकास परिषद्का सदस्य सचिवहरूले राष्ट्रिय खेलकुद परिषद्को ध्यानाकर्षण गराएका हुन्। उनीहरूले कर्णालीमा प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक पूर्वाधार सक्षम रहेको भन्दै तोकिएकै मितिमा प्रतियोगिता हुनुपर्ने बताएका छन्।
दशौं खेलकुदको पूर्वतयारी र भौतिक पूर्वाधारको अवस्था अनुगमनका लागि कर्णालीमा जम्मा भएका सातवटै प्रदेशका खेलकुद विकास परिषद्का सदस्य सचिवहरूले कर्णालीमा तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्न सम्भव भएको निष्कर्ष निकालेका हुन्।