ओमिक्रोन : अमेरिकामा पनि भेटिए संक्रमित, अहिलेसम्म कुन कुन देशमा फैलियो?

कर्णाली अनलाइन १६ मंसिर २०७८, बिहीबार ०६:०६

एजेन्सी।विश्वभर जारी कोरोना भाइरस महामारीको सन्दर्भमा गम्भीर चासो र चिन्ताका रुपमा आएको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विभिन्न देशमा फैलिने क्रममा छ पछिल्लोपटक अमेरिकामा पनि ओमिक्रोनबाट संक्रमित भएका व्यक्ति भेटिएका छन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार दक्षिण अफ्रिकाबाट अमेरिकाको क्यालिफोर्निया फर्किएका व्यक्तिमा ओमिक्रोनको संक्रमण देखिएको हो । ती व्यक्तिले कोरोना भाइरसविरुद्धको खोप भने लगाएका थिए ।

बुधबार अमेरिकाको क्यालिफोर्नियामा तीव्र संक्रामक ठानिएको ओमिक्रोनका संक्रमित भेटिएपछि सतर्कताको तह उच्च पारिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकीहरुलाई खोपको पूर्ण मात्रा लगाउन र योग्य भएको अवस्थामा बूस्टर डोज पनि लगाउन भनेको छ ।यस्तै बाइडेनले आउँदो मार्च मध्यसम्म नै यात्रुहरुले जहाज, रेल तथा बसमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियम लागु गर्दै छन् ।

राष्ट्रपति बाइडेनका शीर्ष स्वास्थ्य सल्लाहकार समेत रहेका डा. एन्थोनी फाउचीले ओमिक्रोनको संक्रमण पुष्टि हुनुले खोप नलगाएकाहरुले तत्काल लगाउनु बुद्धिमानी हुने देखिएको बताएका छन्। अमेरिकामा खोप लगाउन योग्य रहेर पनि ६ करोड मानिसले लगाएका छैनन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नोभेम्बर २६ मा नयाँ भेरियन्टको नाम ओमिक्रोन राखेको हो । यस्तै गम्भीर चिन्ताको भेरियन्टका रुपमा पनि डब्लुएचओले ओमिक्रोनलाई परिभाषित गरेको छ ।

नोभेम्बर २४ मा ओमिक्रोन पहिलोपटक दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । प्रारम्भीक परीक्षणहरुले यो भेरियन्ट तीव्र गतिमा फैलिँदै गएको देखिएको छ । तर अरु भन्दा यो भेरियन्ट संक्रामक रहे नरहेको पुष्टि हुन भने थप अध्ययनको खाँचो छ र वैज्ञानिकहरुले त्यसमा काम गरिरहेका छन् ।

दक्षिण अफ्रिकासँगै बोत्स्वानामा पनि देखिएको ओमिक्रोन भेरियन्टबाट संक्रमित भएकाहरु अहिलेसम्म अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, ब्राजिल, बेलायत, क्यानडा, चेक गणतन्त्र, डेनमार्क, जर्मनी, घाना, हङकङ, आयरल्याण्डसहितका देशमा भेटिएका छन् ।

यस्तै इजरायल, इटाली, जापान, नेदरल्याण्ड्स, नाइजेरिया, नर्वे, पोर्चुगल, रियुनियन, साउदी अरेबिया, दक्षिण कोरिया, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, युएई तथा अमेरिकामा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन् ।ओमिक्रोन झण्डै ५० वटा म्युटेशनबाट विकास भएको हो। यति धेरै म्युटेशन यसअघिका भेरियन्टमा देखिएको थिएन।रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश अधिवेशन पौडेल समूहद्वारा बहिस्कार

१६ मंसिर २०७८, बिहीबार ०६:०६
सुर्खेत। नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ।कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर (पौडेल) समूह अनुपस्थित भएको हो। संस्थापन (शेरबहादुर देउवा) समूहका जीवनबहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन समिति गठन गरिएको थियो। […]

सम्बन्धित शीर्षक